यसरी जीवनस्तर बढाउँछ उन्नत बिउविजनले। पूरा पढ्न लिङ्कमा क्लिक गर्नु होला,,,
कृषिप्रधान मुलुक नेपाललाई उन्नत बिउमा आत्मनिर्भर बनाउँदै साना किसानको जीवनस्तर माथि उकास्न पहाडी जिल्लामा उन्नत बिउविजन कार्यक्रम सञ्चालनमा रहेको छ । सन् २०१२ देखि सञ्चालनमा रहेको यो कार्यक्रम २०१९ सम्म चालू रहनेछ । यसमा करिब ५ अर्ब रुपैयाँ बजेट रहेको छ । कार्यक्रमको नेतृत्व सरकारका सहसचिव लक्ष्मणप्रसाद पौडेलले गरेका छन् । कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बिउविजन कार्यक्रम, कार्यक्रम व्यवस्थापन कार्यालय रुपन्देहीका प्रमुखका रूपमा उनी कार्यरत छन् । कृषि क्षेत्रका लागि यो कार्यक्रम धेरै फाइदाजनक रहेको पौडेल बताउँछन् । कार्यक्रममा कसरी सहभागिता जनाउने र फाइदा लिनेलगायत विविध पक्षबारे पौडेलको विश्लेषण यस्तो छ :
किसानलाई उन्नत बिउविजन कार्यक्रम पहाडी ६ जिल्लामा सञ्चालनमा रहेको छ । किसानलाई उन्नत बिउमा आत्मनिर्भर बनाउन थालिएको उन्नत बिउविजन कार्यक्रम अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, सल्यान र रुकुममा सञ्चालनमा रहेको छ । सन् २०१२ को डिसेम्बरबाट सुरु भएको झन्डै ५ अर्ब रुपैयाँको कार्यक्रम सन् २०१९ सम्म चालू रहनेछ ।
यसअन्तर्गत ७ सयवटा समूहसम्म कार्यक्रम पुर्याउने लक्ष्य राखिएको छ । सन् २०१९ को डिसेम्बरसम्ममा बिउविजनका क्षेत्रमा ३९ प्रतिशत बजेट छुट्याइएको छ । साना पशुपालकको व्यवसायीकरणमा ३४ दशमलव ३ प्रतिशत बजेट छुट्याइएको छ । यस अवधिमा १ लाख ५० हजार घरधुरी लाभान्वित हुने र ६५ हजार घरधुरी बिउविजनका क्षेत्रका रहनेछन् ।
किसानलाई उन्नत बिउविजन कार्यक्रमअन्तर्गत औपचारिक रूपमा बिउविजन क्षेत्रको विस्तार, साना पशुपालकको व्यवसायीकरण, स्थानीय उद्यमशीलता तथा संस्थागत विकास र कार्यक्रम समन्वय तथा व्यवस्थापनका काम हुन्छ । त्यस्तै, मूल बिउ उत्पादनका निम्ति नेपाल कृषि अनुसन्धान केन्द्र तथा सरकारी फार्मको क्षमता अभिवृद्धि भई स्रोत बिउको उपलब्धतामा
वृद्धि हुनेछ ।
यस्तै, क्षेत्रीय बिउविजन प्रयोगशालाको क्षमता अभिवृद्धि भई बिउविजनको गुणस्तर नियमन हुनेछ । सरकारले सिफारिस गरेअनुरूप बिउ प्रतिस्थापन दर कायम गर्न यथार्थ सांकेतिक बिउको उत्पादन वृद्धि भई औपचारिक बिउ बजार प्रणालीको विकास हुनेछ ।
कम्तीमा ७ हजार कृषक र ७ सय बिउ उत्पादन समूह कार्यक्रममा सहभागी हुने र कार्यक्रम सञ्चालन क्षेत्रमा घटीमा ५ वटा बिउ कम्पनी तरकारी तथा खाद्यान्य बालीको उन्नत बिउको कारोबारमा संलग्न हुने अपेक्षा छ । यथार्थ सांकेतिक बिउले कम्तीमा २ लाख ४० हजार हेक्टर क्षेत्रफल ढाक्नेछ । धानको ७ सय ६०, गहुँको १ हजार ६ सय ६०, मकैको ८ सय ३०, तरकारीको ५ सय मेट्रिकटन यथार्थ सांकेतिक बिउ उत्पादन हुनेछ ।
बिउमा आत्मनिर्भर बनाउन अनुसन्धानमा जोड दिएका छौँ । हामीसँग भएका जातहरूलाई उन्नत बिउ बनाउनेछौँ ।
किसानलाई कृषक समूह सहकारीमार्फत अनुदान दिने कार्यक्रमबाट लाखौँ किसान लाभान्वित हुन थालेका छन् । यो कार्यक्रममा किसानको सहभागिता बढाउन ती जिल्लामा लगानीद्वार कार्यालय छन् । बिउ र पशुसम्बन्धी विज्ञहरू त्यहाँ रहेका हुन्छन् । किसानलाई कार्यक्रममा सहभागिता जनाउन प्रस्ताव आह्वान गरिन्छ र प्रस्ताव लेखनमा पनि सिकाउने व्यवस्था मिलाइएको हुन्छ । त्यसपछि विज्ञबाट कार्यक्रमको मूल्यांकन गराउने गरिन्छ । फिल्डमै गएर गर्न सक्ने हो कि होइन, सबैतिरबाट अध्ययन गरेपछि मात्रै सम्झौता गर्छौं । त्यसपछि काम पनि त्यहीअनुसार नै हुन्छ । गाइडलाइन बनाएर काम गर्ने हुनाले कार्यक्रम फलदायी बनाउँछौँ । प्राविधिक राखेर काम गरिने हुनाले काम हेरी अनुदान रकम भुक्तानी गर्छौं । तीन वर्षमा किस्ता किस्तामा रकम दिने गरिन्छ ।
बिउ उत्पादनका काममा एउटा समूहलाई बढीमा ३० लाखको काम दिन्छौँ । यसमा ५० प्रतिशत अनुदान दिन्छौँ । तर, सिँचाइमा भने ८० प्रतिशतसम्म लगानी कार्यालयबाट काम हुन्छ ।
त्यस्तै, बिउ उत्पादन मात्र भएर
हुँदैन त्यसको बजारीकरण पनि सँगै गर्नु जरुरी छ । त्यसमा बजारीकरण गर्ने एग्रोभेटलाई १० लाख रुपैयाँसम्म अनुदान दिने कार्यक्रम अगाडि बढाएका छौँ । जिल्लाबाहिर लैजाने ठूला बिउ कम्पनीलाई पनि सहयोग गरिन्छ । बिउलाई प्रशोधन गरी प्याकेज बनाएर बाहिर बिक्री गर्छौं । यस्तै, गोदाम घर, प्रोसेसिस मेसिन, ल्याबलगायतमा ५० प्रतिशतसम्म अनुदान दिन्छौँ ।
पशुपालनतर्फ उन्नत जातका बाख्रा र गाईमा लगानी गर्ने कार्यक्रम अगाडि बढेका छन् । यो कार्यक्रम गरिबलाई लक्षित गरिएकाले साना किसानले प्रत्यक्ष फाइदा लिन सक्छन् । दुग्ध उत्पादन बढाउन जर्सी गाई र मासु उत्पादन बढाउन बोयर जातको बोकाको कार्यक्रम अगाडि बढाएका छौँ । नश्ल सुधारमा काम भएपछि साना किसानले फाइदा पाउँछन् । गुल्मीको ग्वादी र अर्घाखाँचीको डिभर्नामा बाख्राको सामूहिक प्रज्ज्वलन केन्द्र स्थापना गरेका छौँ । बोयर जातका बोका यसपटक अस्ट्रेलियाबाट ५० वटा ल्याउने कार्यक्रम बनाएका छौँ । त्यस्तै, जर्सी गाईको सेक्स सिमेन १० हजार डोज र बोयर बोकाको सिमेन १० हजार डोज खरिद गर्ने कार्यक्रम बनाएका छौँ । सेक्स सिमेन अत्याधिक महँगो पर्छ । जर्सीको सेक्स सिमेन युरोपियन मुलुकबाट ल्याउने कार्यक्रम बनाएका छौँ ।
मूल बिउ उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिने तयारी गरिएको छ । यसमा कस्तो मोडालिटी बनाउने भन्ने छलफल गर्छौं । रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा यसअनुसारको कार्यक्रम अगाडि बढाउँछौँ ।
यो कार्यक्रम सुरु भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा अलि–अलि बिउ उत्पादन सुरु भइसकेको छ । हालसम्म २ सय २७ मेट्रिकटन बिउ उत्पादन भइसकेको छ । २५ करोडबराबरको सम्झौता विभिन्न समूहमा भएको छ । किसानलाई साढे ७ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौँ । यही गतिमा काम अगाडि बढेमा निर्धारित अवधि ७ वर्षमा अपेक्षित उपलब्धि हासिल गरिन्छ । हालसम्मको प्रगति विवरण धेरै सन्तोषजनक छ । मुलुकको असहज परिस्थिति भूकम्प तथा नाकाबन्दीले कार्यक्रम प्रभावित भए पनि कामले पछिल्लो समयमा गति बढाएको छ । लक्ष्यको ४८ प्रतिसत परिवारमा पुगिसकेका छौँ र महिला सहभागिता उल्लेख्य छ । ७८ प्रतिशत महिला सहभागिता रहेको छ । कार्यक्रम अवधिमा ७ सय २० समूहमा कार्यक्रम पुर्याउनुपर्ने हो । गत वर्षसम्म कुल बजेटको ५ दशमलव ७ प्रतिशत खर्च भएको थियो । अहिलेसम्म १६ दशमलव ८ प्रतिशत खर्च भएको छ । यस वर्ष मात्रै ११ प्रतिशत रकम खर्च भएको छ । यसबाट पनि निर्धारित समयमै बजेटअनुसारको काम गर्न सक्छौँ भन्ने स्पष्ट हुन्छ ।
Reviewed by a
on
11:47 PM
Rating:
No comments: