Top Ad unit 728 × 90

a
Ad Inside Post

जलविद्युतमा लगानी गर्दैनन् ठूला घराना

काठमाडौंः लगानीका लागि ‘भर्जिन’ मानिएको जलविद्युत् क्षेत्रमा ठूला व्यावसायिक घरानाको आकर्षण देखिएको छैन । वार्षिक अर्बौंको कारोबार गर्ने व्यावसायिक घरनाको रुचि ट्रेडिङ र होटेल क्षेत्रमा बढी छ ।
लगानीका लागि मुलुकमा सबैभन्दा बढी सम्भावना भएको जलविद्युत् क्षेत्र ठानिएको छ । सरकार जलविद्युत्मा स्वदेश र बिदेशबाट ठूलो लगानी भिœयाउने बताउँदै आएको छ । तर, स्वदेशकै ठूला लगानीकर्ता जलविद्युत्मा लगानी गर्न तयार छैनन् । जलविद्युत्मा लगानी गर्न सरकारी नीति र अस्थिर सरकार बाधक भएको उनीहरू बताउँछन् ।
जलविद्युत्मा एकाध ठूला व्यवसायी लगानी गर्न तम्सिए पनि तिनको लगानी नगन्य छ । तिनको लगानीमा सञ्चालन भइसकेका परियोजना २/३ वटामात्र छन् । डलर अर्बपति विनोद चौधरीले सन् २०२० सम्म अर्बौं लगानी गरेर विश्वभर दुई सय लक्जरियस होटेल खोल्ने घोषणा गरिसकेका छन् । झण्डै सवा सय तारे होटेल सञ्चालनमा ल्याइसकेका छन् ।
तर, अहिलेसम्म उनको लगानीमा एउटा पनि जलविद्युत् आयोजना सञ्चालनमा आएको छैन । उनले १५ मेगावाटको मध्यमोदीमा दुई अर्ब ८० करोड लगानी गर्ने भएका छन् । निर्माणाधीन यस आयोजना सञ्चालनमा आउन अझै केही वर्ष लाग्नेछ ।
पुरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनले अहिलेसम्म जलविद्युत्मा लगानी गरेको छैन र योजना पनि बनाएको छैन । अहिलेको अवस्थामा जलविद्युत्मा लगानी गर्नु जोखिमपूर्ण रहेको समूहका सञ्चालक शेखर गोल्छा बताउँछन् ।
जलविद्युत्मा लगानी गरेर जोखिम मोल्नुभन्दा सेवा क्षेत्रमा लाग्दा धेरै फाइदा हुने मुरारका बताउँछन् । ‘सामान किनेर ल्यायो, बिक्री गर्यो, यसमा रिस्क फ्याक्टर कम हुन्छ’,उनले भने,‘जलविद्युत्मा लगानी गरेमा त्यसै दिनदेखि नदुखेको टाउको पनि दुख्न सुरु हुन्छ ।’
‘जलविद्युतमा लगानी गर्न स्थानीय तहमा धेरै समस्या छ, स्थिर सरकार नआउँदासम्म यो समस्या समधान हुने देखिदैन’, उनले भने,‘ ‘विद्युत् प्राधिकरणले ऊर्जा खरिद गर्ने मूल्य पनि निकै कम छ, यसले प्रतिफल आउँदैन ।’ सरकारी नीति लगानी प्रोत्साहन गर्ने नभएको उनको गुनासो छ ।
निजी क्षेत्रबाट जलविद्युत्मा सबैभन्दा बढी लगानी गर्ने सिप्रदी समूह हो । उसको लगानीमा ४५ मेगावाट क्षमताको भोटेकोसी आयोजना सञ्चालनमा आइसकेको छ । सन् २००० देखि सञ्चालनमा आएको यो आयोजनामा त्यतिबेला ९८ मिलियन डलर लगानी भएको थियो । उनले ३९ मेगावाटको मध्य भोटेकोसीमा ६ अर्ब लगानी गर्दैछन् ।
ज्योति समूह, बैंकर्स पृथ्वीबहादुर पाँडे, महेश्वर श्रेष्ठको लगानीमा साना परियोजना सञ्चानमा आएका छन् । पाँडे र श्रेष्ठको लगानीमा १० मेगावाटको तल्लो मोदिखोला आयोजना सञ्चालनमा आइसकेको छ । हिमालय इन्फ्रास्ट्रक्चर फन्डमार्फत दुई जनाले चिनियाँ लगानी भिœयाएर जलविद्युत् परियोजना बनाइरहेका छन् ।
प्रभु ग्रुप, विशाल ग्रुप, खेतान ग्रुप, लक्ष्मी ग्रुप, एमएस ग्रुप, एनई ग्रुप, वैद्यज अर्गनाइजेसन लगायतका ठूला व्यावसायिक घरानाको जलविद्युत्मा लगानी छैन् । उद्यमी राजेन्द्र खेतान अहिलेसम्म जलविद्युत्मा लगानी गर्ने सोचाइमा नरहेको बताउँछन् ।
लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ पनि जलविद्युत्मा लगानी गर्ने पक्षमा छैनन् । आईएमई ग्रुप, शंकर ग्रुप, मुरारका अर्गनाइजेसन ग्रुप भर्खरैमात्र जलविद्युत्मा लगानी गर्न अगाडि सरेका छन् । यी समूहले गर्ने कारोबारका आधारमा उनीहरूले गर्न लागेको लगानी अत्यन्तै न्यून छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका पशुपति मुरारकाले भैरहवामा रहेको सिमेन्ट उद्योगमा थप चार अर्ब खर्चिएर क्षमता दोब्बर बनाउँदैछन् । तर, उनले जलविद्युत्मा १५/१६ करोडमात्र लगानी गरेका छन् । उनीसहित ३/४ जना मिलेर ३.५२ मेगावाटको दोलखा चन्द्रावती र २० मेगावाटको मोदी जलविद्युत् आयोजना बनाइरहेका छन् ।
सरकारले जलविद्युत्का लगानीकर्तालाई सौताको व्यवहार गरेको मुरारकाको आरोप छ । ‘मेरो पनि जलविद्युत्मा थप लगानी गर्ने इच्छा छ तर राज्यको नीति नियम र व्यवहार लगानीकर्तालाई निरुत्साहित गर्ने खालको छ’, उनले भने, ‘कुनै पनि लगानीकर्ता प्रतिफलको सुनिश्चितता नभएसम्म लगानी गर्दैनन्, जलविद्युत्मा प्रतिफल पाउने अवस्था छैन ।’
जलविद्युत् विकट ग्रामीण क्षेत्रमा बनाउनुपर्छ । स्थानीयले जग्गाको भाउ बढाएर किन्न नसकिने बनाउँछन् । त्यतिमात्र होइन निःशुल्क सेयरसमेत माग गर्छन् । सेवा सुविधा नपाए आन्दोलन गरेर आयोजनामा अवरोध गरिदिन्छन् । त्यही भएर पनि ठूला कर्पोरेट हाउस जोखिम मोलेर जलविद्युत् क्षेत्रमा नलागेको मुरारकाको दाबी छ ।
जलविद्युत्मा व्यावसायिक घरना आकर्षित गर्न सबैभन्दा पहिला नीति तथा कानुन परिमार्जन गर्नुपर्ने मुरारकाको सुझाव छ । नेतादेखि कर्मचारी संयन्त्रसम्मको लगानीकर्तालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने उनी बताउँछन् ।
जलविद्युत्मा कसको कति लगानी ? शंकर ग्रुपले संयुक्त लगानीमा तीनवटा आयोजना बनाउँदैछ । यसले २० मेगावाटको मोदी, ३६ मेगावाटको बलेफी र ३६ मेगावाटकै आँखुखोला जलविद्यत् आयोजना बनाउन लागेको छ । तीनवटा आयोजनामा करिब १० अर्ब रुपैयाँ खर्च गर्ने यो समूहको योजना छ ।
पृथ्वीवहादुर पाँडे र महेश्वर श्रेष्ठको लगानीमा आगामी दुई वर्षभित्र २२ मेगावाटको माण्डुपावर सञ्चालन हुन लागेको छ । यो कम्पनीले एक वर्षभित्र थप १०० मेगावाटको परियोजना बनाउन लागेको श्रेष्ठले जानकारी दिए ।
आईएमई समूहले एनआरएनसँग मिलेर लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना बनाइरहेको छ । यस्तै, नेपाली व्यवसायीसँग मिलेर म्याग्दीमा ४२ मेगावाटको मिस्त्रीखोला आयोजना बनाउन लागेको आइर्एमईका अध्यक्ष चन्द्र ढकालले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यष प्रदीपजंग पाण्डेले पनि म्याग्दीको मिस्त्रीखोला आयोजनामा लगानी गर्न लागेका छन् । यो परियोजनाको फाइनान्सियल क्लोजर भइसकेको छ । यो आयोजनामा जलविद्युत् विकास कम्पनीसहित केही व्यवसायीको लगानी हुनेछ ।

जलविद्युतमा लगानी गर्दैनन् ठूला घराना Reviewed by a on 8:51 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.