आजको राशिफल २०७३ आश्विन २२ गते शनिबार
आजको पञ्चाङ्ग
वि.सं. २०७३ आश्विन २२ गते शनिबार तदनुसार ई. सं. २०१६ अक्टोबर ०८ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :— ११३६, (कौलाथ्व)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५२
बजे र सूर्यास्त : साँझ ०५:३३ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे
आश्विन शुक्लपक्षको सप्तमी तिथि, साँझ ०४:२२ बजेसम्म, त्यसपछि अष्टमी तिथि,
मूल नक्षत्र, दिउँसो ०१:३३ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त),
शोभन योग, साँझ ०६:१६ बजेसम्म, त्यसपछि अतिगण्ड योग,
वणिज करण, साँझ ०४:२२ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण,
आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा :
पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व,
आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कालरात्री भगवतीको पूजा, फूलपाती, नवपत्रिका प्रवेश, सरस्वत्याह्वान
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा, कालरात्री, महाष्टमी व्रत, गोरखकाली पूजा, नेवारी पर्व कुलक्षीभ्वय, हुलाक दिवस
२४ गते : नवरात्रअन्तर्गत सिद्धिदात्री भगवतीको पूजा, महानवमी, नेवारी पर्व स्याक्वट्वाक्व, मन्वादि, सुनसरीको चाँदबेलामा देवीस्थान मेला,
२५ गते : विजया दशमी, दशैंको टीका, खड्गयात्रा, शमी दर्शन, देवी विसर्जन, चाँल, बौद्धावतार,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१९ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
No comments: