चार वर्षको छोरो दाम्लोमा, आमा होटलको काममा
पर्वत, पुस १३ – एक चार वर्षका बालक । खोरमा । त्यो पनि दाम्लोले बाँधिएको । झट्ट सुन्दा पनि आङ नै सिरिङ्ग हुने । झैन आफ्नै आँखाले देख्दा कसको मन नरोला र ? यो दुर्दशा हो पर्वत सदरमुकाम कुश्मा बजारका एक बालकको । तर आफैले जन्माएको छोरालाई दाम्लोले बाँधेर खोरमा राख्नु एउटी आमाको विवशता पनि हो । छोरालाई दाम्लोले बाँधेर आफू चाही होटलको काम गर्न आमा बाध्य हुनुहुन्छ । पर्वत कुश्मा नगरपालिका दुर्लुङकी अस्मिता बिक चार वर्षको छोरा विश्वास बिकलाई खोरमा दाम्लोले बाँधेर कुश्मा बजारको होटल सन्तोष एण्ड सञ्जयमा काम गर्दै आउनुभएको छ । झण्डै १ वर्ष अघिदेखि होटलमा काम गर्न थाल्नुभएकी बिकले छोराले आफूलाई सहज रुपमा काम गर्न नदिएपछि खोर भित्र डोरीले बाँधेर काम गर्दै आउनुभएको बताउनुभयो । ‘काम नगरी खानपाउनु छैन’ उहाँले भन्नुभयो ‘छोड्यो भने हिँडेको हिँडै गर्छ, त्यही भएर डोरीले बाँधेर राखेकी हुँ ।’
काम नगरे हातमुख जोड्न धौ धौ हुने उहाँको श्रीमानसहित तीन जनाको परिवार छ । श्रीमान पनि मजदुरी गर्नुहुन्छ । उहाँ दिनभर ट्याक्टर चलाउने काममा व्यस्त हुने र छोरालाई रेखदेख गर्ने व्यक्ति नभएकोले आफुले होटलमा नै डोरीले बाँधेर काम गर्नु पर्ने अवस्था आएको अस्मिताले बताउनुभयो ।
डोरीमा बाँधिएका चार वर्षका बालक विश्वास खोर भित्रै रुने कराउने गर्छन् । होटलको काममा व्यस्त आमा बेलाबखत छोरालाई स्यहारका लागि पुग्ने गरे पनि बिहानदेखि लगाएको दाम्लोबाट विश्वासले बेलुका घर फर्किने बेलासम्म पनि छुटकारा पाउँदैनन् । विश्वासको कहिले खुट्टामा त कहिले हातमा दाम्लोले बाँधिएको हुन्छ । उनले दाम्लो फुकाउने प्रयास गरे पनि फुकाउन भने सक्दैनन् ।विश्वासकी आमा अस्मिताले उनलाई दाम्लोमा बाँधेर काममा जाने बित्तिकै ‘आमा बाबा’ भन्दै रुने कराउने गर्छन विश्वास । पर्वतमा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायदेखि गैरसरकारी संघसंस्था समेत छन् । तर दाम्लोमा बालक रोएको सुन्ने कोही छैन । विश्वास जस्ता बालकको पीडा उनीहरुको नजरमा पर्न सकेको छैन ।
No comments: