Top Ad unit 728 × 90

a
Ad Inside Post

तीन दशकपछि बाह्रवर्षे नाच

भक्तपुर- काठमाडौंस्थित श्वेतकाली देवीको बाह्रवर्षे नाच झन्डै तीन दशकपछि भक्तपुरमा सम्पन्न भएको छ। शनिबारबाट सुरु भएको न्यतः मरु (गाला नभएको) अजिमा नामले प्रसिद्ध देवीनाच आइतबार भक्तपुरमा सम्पन्न भएको हो।
नरदेवीका मूल पूजारी राजा तुलाधारले बाह्रवर्षे देवीनाच करिब तीन दशकपछि भक्तपुरमा प्रस्तुत देखाइएको बताए। 'विभिन्न कारण बेलाबेला देखाउन नसके पनि अन्ततः हामीले परम्परा जारी राख्न सफल भएका छौँ,' उनले भने, 'भक्तपुरमा आएर नाच्न पाउँदा हामीलाई गर्व लागेको छ।'
काठमाडौंदेखि आएको नाच हेर्न पाएकामा भक्तपुरवासी निकै हर्षित बने। शनिबार साँझ बाजागाजासहित भक्तपुर आएको नाच टोलीलाई सर्वसाधारणले चोकचोकमा उभिएर फूलपातीले स्वागत गर्दै नगर भिœयाएका थिए।
भक्तपुर आउने क्रममा सल्लाघारी हुँदै सिद्धपोखरी आइपुगेको नाच टोली केही क्षणको विश्राम र पूजापछि आ–आफ्नो पोसाक गरगहना लगाएर बाजागाजासहित नगर प्रवेश गरेको थियो। भक्तपुरको इटाछेँ, खौमा भई दरबार क्षेत्र पुगेको टोलीले शनिबार साँझ पूजा सकाएपछि तलेजु भवानीको मन्दिरअगाडि श्वेतकाली अजिमाको परम्परागत नाच सुरु भएको थियो।
शनिबारबाट सुरु भएको नाच आइतबारसम्म चलेको थियो। विभिन्न देवीदेवताको भेषमा सजिएका कलाकारले दरबार क्षेत्रमा नृत्य गर्दा सांस्कृतिक नगरी भक्तपुरको सौन्दर्य झनै निखारियो। युवायुवती, बालबालिका र वृद्धवृद्धाले निकै रमाइलो मानेर परम्परागत नाच नियाले।
'लामो समयपछि नाच हेर्न पाउँदा खुसी लागेको छ,' स्थानीय ७१ वर्षीय आशराम अवालले भने, 'नाच जहाँको भए पनि उत्तिकै रमाइलो।'
लामो समयसम्म नाच देखाएका देवगणमा थकान कम उत्साह ज्यादा देखिएको थियो। गरगहना र परम्परागत भेषभूषामा सजिएका उनीहरू असिनपसिन भए पनि नाच्न छाडेका थिएनन्। 'परम्परालाई निरन्तरता दिन पाउँदा खुसी लागेको छ, 'नारायणी भेषमा नृत्य गर्दै गरेका काठमाडौं नरदेवीका अष्ट नारायणले भने, 'थकानभन्दा पनि उत्साह धेरै छ।'
संस्कृतिविद् ओम धौभडेलले काठमाडौंबाट भक्तपुर आएर नाच नाच्ने परम्परालाई धार्मिक र सांस्कृतिक सद्भावको उदाहरण भएको बताए। 'एकअर्काको संस्कृतिलाई सम्मान दिने र आफ्नो कला अन्य ठाउँमा देखाउने परम्पराको निरन्तरता हो यो,' उनले भने।
काठमाडौं महानगरपालिका– १८ नरदेवी टोलस्थित नरदेवी मन्दिरमा लोकप्रिय रहँदै आएको यो नाच प्रत्येक वर्ष नरदेवीबाट सुरु भई टेंगल, असन, बंगल, मखन, काष्ठमण्डप, न्हुघ, कोहिटी, भीमसेनस्थान, प्याफल, यटखा हुँदै पुनः नरदेवीमा देखाउने परम्परा रहेको उनले बताए।
यसै सन्दर्भमा प्रत्येक १२ वर्षमा एकपटक यो नाच काठमाडौंबाहेक अन्य स्थानमा पनि देखाइने चलन अनुसार भक्तपुर आएको हो। देवीको हातबाट चण्डासुर दैत्यको वध हुनु यो नाचको मूल कथा हो।
उपत्यकामा परम्परादेखि चल्दै आएका स्थानीय नाच प्रत्येक वर्ष आ–आफ्नै स्थानमा देखाउने चलन छ। त्यसबाहेक १२ वर्षमा एकचोटि आफ्नो बस्तीभन्दा बाहिर पनि देखाउने चलन रहेको धौभडेलले सुनाए। भक्तपुरमा विगतमा पाटनको हरिसिद्धि नाच, काठमाडौंको पचलीभैरव नाच पनि देखाइएको उनले बताए। नरदेवीका पुजारी अनुररत्न तुलाधरले २६ र २७ गते बनेपामा पनि नाच प्रस्तुत गरिने बताए।

तीन दशकपछि बाह्रवर्षे नाच Reviewed by a on 8:25 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.