टेरिया ‘झलक दिखला जा’को उपाधि नजिक
रुपन्देही, पुस २७ – रुपन्देही रुद्रपुरकी टेरीया फौजामगर भारतीय टेलिभिजन कलर्सको चर्चित ‘रियालिटी सो–झलक दिखला जा’ को उपाधि नजिक पुगेकी छन् । यसअघि उनले सन् २०१४ मा ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को उपाधि जितेकी थिइन ।
१४ वर्षकी टेरियाले ‘झलक दिखला जा’ को उपाधि जितेमा पुरस्कार स्वरुप ३० लाख भारतीय रुपैयाँ र एउटा कार प्राप्त गर्ने छिन । टेरियाले भारतीय डान्सर एवं ‘झलक दिखला जा’ का पूर्व विजेता सलमान युसुफ खान र वर्ल्र्ड हिपहपका विजेता सानतनु महेश्वरीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्दैछिन् ।
गएको जुलाईमा सुरु भएको ‘झलक दिखला जा’ मा टेरिया वाइल्ड कार्डमार्फत प्रवेश गरेकी हुन् । उनले डिआइडी लिटिल मास्टरको उपाधि विजेता भएकाले च्यालेन्जरको रुपमा प्रवेश पाएकी हुन । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ देखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुँदैछ ।
टेरिया फौजा मगर फाउण्डेसनका अध्यक्ष एवं टेरियाका हजुरबुवा कृष्ण फौजा मगरले आफ्नो प्रतिभाका कारण उपाधि नजिक पुगेकी टेरियालाई ‘झलक दिखला जा’को उपाधि दिलाउनका लागि एसएमएस र अनलाइन भोटिङ गर्न आग्रह गर्नुभएको छ । हरेक शनिबार नेपाली समय अनुसार राति सवा दश बजे कलर्स टेलिभिजनमा यो कार्यक्रम प्रशारण हुने गर्दछ ।
४० हजार प्रतिस्पर्धीलाई पछि पारेर डिआइडी लिटिल मास्टर बनेकी टेरियाले अर्को चर्चित उपाधि जित्नेमा हुजुरबुवा कृष्ण ढुक्क हुनुहुन्छ । प्रतिभावान आफ्नी नातिनी टेरियालाई देशकै नामका लागि पनि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।
टेरीयाले सुरुमा नृत्य प्रशिक्षण लिएको बागेश्वरी संगीतालय बुटवलका प्रमुख सुरेश सेञ्चुरीले टेरीया कला क्षेत्रको शान भएकाले उनलाई अर्को उपाधिका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । टेरीयालाई उपाधि दिलाउन सहयोग पुराउने उदेश्यले विभिन्न अभियानहरु समेत सुरु भएका छन् । उपाधि विजेताको घोषणा जनवरी २१ मा हुनेछ ।
No comments: