युवा जति विदेश गएपछि वृद्धवृद्धा र बालबालिका बस्ने गाउँ
वैदेशिक रोजगारीका कारण टाँकीचौर गाउँ अहिले उजाड भएको छ । पाल्पाको खानीगाउँ ३ टाँकीचौरमा २७ घरधुरी मगर जातीको बसोबास रहेको छ । त्यहाँका २६ जना युवा विदेशिएका छन् ।
१५ वर्ष अघिसम्म धान, कोदो, तोरी, मकै, गहुँसँगै तरकारी खेतीले हरियाली हुने खेतबारी अहिले बाँझिएका छन् । गाईघाट खोलाबाट गाउँमा आउने कुलो सुकेको वर्षैं भइसक्यो । काम गर्न सक्ने बलिया युवा रोजगारीका लागि खाडी पसेपछि गाउँमा वृद्धवृद्धा, महिला र बालवालिका मात्रै छन् । रानीघाट दरबारदेखी आधा घण्टाको ठाडो उकालो पैदल हिँडेपछि पुगिने टाँकीचौर पुग्न सदरमुकाम तानसेनदेखी जिपमा डेढ घण्टा लाग्छ ।
छोराहरु विदेश पसेपछि गाउँमा पिँढिकुरुवा बनेका बुवाआमालाई यति कष्ट छ कि बिरामी हुँदा समेत तातोपानी दिने कोही छैनन् । ‘बस्तुभाउलाई घाँसदाउरा गर्नुपर्छ । आफूलाई बिहान पकाउँछु, साँझलाई राख्छु ।’ घरमा एक्लै भएपछि गाउँलेले एक्ला बजै भनेर बोलाउने ५९ बर्षिया लाली थापाले भन्नुभयो ‘सघाउने कोही छैनन्, जे दुःख छ आफैंलाई छ ।’
गाउँका प्रायजसो घरका युवा विदेश गएका छन् । तीन भाइ छोरा विदेश पठाएका कृष्ण बहादुर थापाको अनुभवमा नेपाल बसेर केही फाइदा नभएपछि सबै केटाहरु परदेश हिँडेका हुन् । स्थानीय विद्यालयमा शिक्षक समेत रहेका थापाले विदेश जाने चलनले एसएलसी नदिदै युवाहरु बाहिरिएको बताउनुभयो । ‘एक दुई जनाले मात्रै क्याम्पस पढेका छन् । नत्र ८–१० कक्षा पढ्दै विदेश गएका छन् ।’ उहाँले भन्नुभयो ।
विदेश गएका युवाहरुमध्ये १७ जना युएईृ, कतार, मलेसिया गएको र अरु भारत पसेको स्थानीय बल बहादुर थापाले जानकारी दिनुभयो ।
‘पहिले पहिले छिमेकी गाउँमा भन्दा टाँकीचौरमा धेरै मकै र धान फल्थ्यो । काउली, मूला, गाजर र तरकारी किन्न कालीपार (स्याङ्गजा)बाट पनि ग्राहक आउँथे ।’ काम गर्ने मान्छे गाउँमा नभएको सुनाउँदै ८५ वर्षीय टिकाराम रानाले भन्नुभयो ‘खेतवारीका झाडी सफा गरौं भन्दा कसैले मान्दैनन्, अल्छिलाई खुब सुख भएको छ ।’
गाउँमा मर्दापर्दा काम गर्नेको निकै खाँचो छ । खेतबारी जोत्न र विरामी पर्दा अस्पताल पु¥याउने मान्छेको अभावमा छिमेकी गाउँबाट सहयोग माग्नु परेको स्थानीय सुरेन्द्र थापाले बताउनुभयो । साउदी, युएई र कतारमा गरी ७ वर्ष विदेशमा रोजगारी गरेर सुरेन्द्र एक महिना अघि मात्रै गाउँ फर्कनुभएको हो ।
‘साथीभाइ सबै गएपछि रहर लाग्यो’ थापाले भन्नुभयो ‘विदेश पुगेपछि काम गर्नुपर्ने बाध्यता हुन्छ, परिवार सम्झिएर हुँदैन । साहुको ऋणले उतै भुलाउँदो रहेछ ।’
गाउँका धेरैजसो युवा विदेश गएपनि उपलब्धी नभएको स्थानीयले बताए ।
गाउँका धेरैजसो युवा विदेश गएपनि उपलब्धी नभएको स्थानीयले बताए ।
‘विदेश भएका मध्ये दुई चार जनाले बजारमा घरजग्गा जोडे नत्र केही भएको छैन’ ३५ वर्षिया सिता थापाले भन्नुभयो ‘उताको कमाईले छोराछोरी पढाउन र घर खर्च चलाउनै ठिक्क भएको छ ।
मगर बस्ती मात्रै रहेको टाँकीचौरमा मात्रै हैन, ब्राम्हण क्षेत्रीको बसोबास रहेको गाउँमा पनि युवाको खडेरी लागेको छ । खानीगाउँ गाविसकै वडा नम्बर ९ कल्लावारीमा २५ घर ब्राम्हण क्षेत्री बसोबास गर्छन् । त्यहाँ प्रायः सबै युवा विदेश गएका छन् ।
‘विरामी पर्दा मात्रै हैन, बर्खामा घर पस्ने भल छेक्ने कोही छैनन्’ एक्लो छोरो युएई गएको बताउने ६७ वर्षीय अग्नी बहादुर क्षेत्रीले भन्नुभयो ‘बुढाबुढीको मात्रै गाउँ बनेको छ ।’
‘धन्न गाउँमा गाडी आयो, नत्र के हुन्थ्यो ?’ क्षेत्रीले समस्या सुनाउँदै भन्नुभयो ‘हेलो! गर्ने बित्तिकै गाडी आउँछ र हो । नत्र विरामी परे सिधै घाट लगे हुन्थ्यो ।’
छोरो विदेश गएपछि नातिनातिना च्यापेर बुहारी शहर पस्दा गाउँमा बुढाबुढी मात्रै भएको स्थानीय खानीगाउँ आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक नल वहादुर साठीघरेले बताउनुभयो । ‘हाम्रै स्कुलमा तीन सय भन्दा धेरै विद्यार्थी थिए । अहिले घटेर एक सय जना पनि छैनन’ उहाँले भन्नुभयो ‘यस्तै अवस्था रहे विद्यार्थीको अभावमा विद्यालय बन्द गर्ने अवस्था आउने देखिएको छ ।’
युवा जति विदेश गएपछि वृद्धवृद्धा र बालबालिका बस्ने गाउँ
Reviewed by a
on
1:47 AM
Rating:
No comments: