काष्ठमण्डप पुनर्निर्माणमा अझै तीन वर्ष लाग्ने
१७ चैत, काठमाडौं । काठमाडौंको महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सक्न तीन वर्ष लाग्ने भएको छ ।
काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानरपालिकाले छिटो गतिमा काम गर्दा पनि तीन वर्ष लाग्ने जनाएको छ ।
पुरातत्व विभागले बिहीबार काष्ठमण्डपको पुननिर्माणका लागि त्यसको आधिकारिक ‘ड्रोइङ र डिजाइन’ महानगरपालिकालाई हस्तान्तरण गर्दैछ । काष्ठमण्डपको नामबाटै काठमाडौंको नामाकरण भएको किंबदन्ती छ ।
पर्यटकीय महत्वको सम्पदा समेत मानिने काष्ठडमण्डप बनाउन झण्डै २१ करोड रुपैयाँ लाग्ने अनुमान महानरपालिकाको छ । तर, यसको लागतबारे पुरातत्व विभागले महानगरपालिकालाई औपचारिक जानकारी गराएको छैन ।
आधिकारिक नक्साको डिजाइन प्राप्त हुनासाथ पुनर्निर्माणका लागि टेण्डर आह्वान गरिने महानरपालिकाका सम्पदा विभाग प्रमुख नारायणप्रसाद भट्टराईले अनलाइनखबरलाई बताए ।
महानगरपालिको काष्ठमण्डप पुर्निर्माणका लागि पहिलो चरणमा ३ करोड रुपैयाँ छुट्याएको छ । बाँकी रकम निर्माण गर्दैगर्दा पछिल्ला वर्षहरुमा व्यवस्था गरिने ढुंगानाले बताए । ‘रकम नभएर काम अडि्कँदैन । काठमाडौंको पहिचान बनेको काष्ठमण्डपको निर्माण जतिसक्दो छिटो सम्पन्न गर्न प्रयास हुनेछ’ उनले भने ।
हेर्दा दुरुस्तै, बलियो प्रशस्तै
काष्ठमण्डपको पुनर्निर्माण डिजाइनमा पहिलेभन्दा कुनै किसिमको फेरबदल नगरिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।
पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा त्यसमा कुनै परिवर्तन गर्न नपाइने युनेस्कोको अन्तर्राष्ट्रिय मापदण्ड नै छ । ‘हेर्दा दुरुस्तै, बलियो प्रशस्तै । यही मन्त्रलाई केन्द्रमा राखेर काष्ठमण्डप फेरि उभिन्छ’ दाहालले भने- ‘यसलाई अर्को भूकम्पले ढाल्न नसकिने गरी बनाउने हो ।’ यसको निर्माणका वलियो प्रविधि अपनाए पनि आधुनिक निर्माण सामाग्री प्रयोग नगरिने स्पष्ट पारे ।
सालकै काठ अनिवार्य
उनले यसमा काम लाग्नेसम्म पुराना काठ पनि प्रयोग गरिने बताए । तर, त्यसका लागि विज्ञले सिफारिस गर्नुपर्ने उनको भनाइ छ । ‘यसमा कु-काठ अर्थात, शिशौ, चिलाउने लगायतका रुखका काठ प्रयोग गर्न दिइने छैन’ महानिर्देशक दाहालले भने- ‘बलियो हुने भएकाले सखुवा अर्थात सालकै काठ प्रयोग गर्नुपर्छ ।’ उनले सखुवाको काठ पनि धेरै वर्षका रुखहरुबाट निकालेको हुनुपर्ने बताए ।
काष्ठमण्डप एउटै रुखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचिन किंवदन्ती छ । तर, पुरातत्व विभागले अहिले एउटै रुखबाट काठ निकालेर यसको पुनर्निर्माण गर्न महानरपालिकालाई भनेको छैन ।
विभागका एक उच्च अधिकारी यस विषयमा आफुहरु नबोल्ने बताउँछन् । ‘स्थानीयसँग महानगरपालिकाले छलफल गरेर चित्त बुझाएर बनाउनुपर्छ । सम्भव भएसम्म एउटै रुखबाट काठ ल्याए पनि राम्रै हुन्छ ‘ उनले भने ।
विभागका सिनियर डिभिजन इञ्जिनियर सम्पद घिमिरे काष्ठमण्डपको पुनर्निर्माणमा ठूला आकारका काठहरु प्रयोग गर्नुपर्ने बताउँछन् ।
तर, ठूला बुट्टा र जटिल किसिमका काष्ठ कलाकृतिहरु नभएकाले काष्ठमण्डप बनाउन ठूलो मेहनत भने नपर्ने उनको भनाइ छ ।
‘महानगरपालिकाले काम थालेको दुईदेखि तीन वर्षमा काष्ठमण्डप फेरि खडा हुनसक्छ’ उनले भने-‘पुरातात्विक र पर्यटकीय महत्वको सम्पदा पुनर्निर्माणमा तीब्र गतिमा काम हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’
महानगरपालिकाले काष्ठमण्डपसँगै माझु देबल र रानीपोखरीको पनि पुनर्निर्माणको जिम्मा लिएको छ ।
अनलाइनखबरबाट
Reviewed by a
on
4:15 AM
Rating:
No comments: