मनीषाको शव टिचिङ ल्याइयो, पोस्टमार्टम गरिँदै
काठमाडौं— बुधबार रहस्यमय रुपमा मृत भेटिएकी राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीकी बहिनी मनीषाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ। चिकित्सकले शुक्रबार दिउसो उनको शव पोष्टमार्टम गर्ने तयारी गरेका छन्।
घटना शंकास्पद देखिएपछि नवलपरासी प्रहरीले शवलाई पोष्टमार्टम गर्न काठमाडौं पठाएको हो। बुधबार राति नवलपरासी बर्दघाट-८ भानुनगर स्थित घरमा १७ वर्षीया मनीषा मृत भेटिएकी थिइन्।
घटनाको अनुसन्धानका लागि प्रहरीले मनीषाका प्रेमी आशिष (रुद्र नारायण) चौधरीलाई पक्राउ गरेको छ। 'मनीषाले रुद्रनारायणसँग सिमकार्ड मागेकी रहिछन्, उसले दिन नमानेपछि दुबैजनाबीच भनाभन भएको रैछ' अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नागरिकन्युजसँग भने 'केटीले पहिले झापड हानेको र बदलामा केटाले पनि झापड हनेको बयानमा छ।'
मनीषासँग विवाद पछि सामान्य हानाहान भएको झोँकमा प्रेमी रुद्रनारायणले एक बोतल बियर पिएर मनीषाको घरमा गएको स्वीकारेका छन्। उनले अनुसार मनीषा घर भित्र र आफू घर बाहिर सुतेका उल्लेख गरेका छन्। 'राति ११ बजे ब्युँझेर कोठा भित्र गएर हेर्दा मनीषा पासो लगाएर झुण्डिएको देखेँ,' रुद्रनारायणले प्रहरीमा भनेका छन् 'हेर्दा उनको मृत्यु भैसकेको थियो, मैले पासो खोलेर खाटमा राखेँ त्यसपछि आमालाई (रुद्रनारायणको आमा) घटना सबै बताएँ।'
मृत अवस्थामा घरभित्र खाटमा भेटिएकी मनीषाको शव आसपासमा पासो लगाएको डोरी भने भेटिएन। पछि प्रेमी रुद्रनारायणले पासो आफूले घर छेउको कल्भर्टमा लुकाएको भन्दै पासो निकालेर प्रहरीलाई दिएका थिए। प्रहरीका अनुसार उक्त पासो समेत शवसँगै फरेन्सिक टेस्टका लागि काठमाडौं ल्याइएको छ।
बहिनी मृत्युको खबर पाएपछि बेल्जियममा रहेका बिमल घर्ती आज नेपाल फर्किंदैछन्। घुँडाको उपचार एवं युरोपेली क्लबसँग आवद्ध हुने प्रक्रियाका लागि उनी बेल्जियम पुगेका थिए।
Reviewed by a
on
9:50 PM
Rating:
No comments: