Top Ad unit 728 × 90

a
Ad Inside Post

प्रधानमन्त्रीको अर्को सपना, ‘नेपालीको आफ्नै पानी जहाज’

दर्जनौं ‘अविश्वसनीय’ योजना सार्वजनिक गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले आफ्नै पानी जहाज चलाउने घोषणा गरेका छन् ।
आफूले फास्ट ट्रयाक र रेलको योजना अघि सार्दा विपक्षीहरु आत्तिएको उल्लेख गर्दै प्रधानमन्त्रीले तर सरकार आफ्ना उद्देश्यतिर केन्द्रित हुने बताए । चीनसँग कुन बन्दरगाह चलाउने भन्ने निर्णय नभएको उल्लेख गर्दै काठमाडौंमा मंगलबार पार्टीनिकट महिला संघको कार्यक्रममा उनले नेपाली पानी जहाज चलाउने घोष्णा गरे ।
‘पानीजहाज प्रयोग भएको बन्दरगाह प्रयोग गर्नेमात्र होइन, नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन,’ आफ्नै पानी जहाज किन्ने बताउँदै उनले भने, ‘आफ्नो पानी जहाजमा सामान ल्याउँछौ, आफ्नो रेल तीन दिनमा काठमाडौं आइपुग्छ ।’ उनले समुद्रमा नेपाली झण्डाअंकित पानी जहाज चलाउने उल्लेख गरे । ‘हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चल्छन्, अरुले गाड्छन् गाड्दैनन् हामी गाड्छौं,’ उनले भने, ‘पानी भएपछि पानी जहाज चलाउन किन नहुने के छ ?
प्रधानमन्त्रीले आफ्ना नविनतम सोच अघि सार्दा विपक्षीहरुले कुरा काटेर समय बिताएको बताए । ‘ छक्क पर्छन् सुन्दा । यो भन्दा टाढा टाढा रेल कुदेका छन् कि छैनन् ? अलिकति समय पर्खनुस्,’ उनले भने, ‘नेपालमा सोच्ने विचार गर्नेभन्दा अगाडिको भागमात्रै हेर्ने चलन भएको ठाउँमा अलिकति नयाँ कुरा गर्यो भने अनौठो हुन्छ ।’
प्रधानमन्त्रीले आफूले भारत भ्रमणमा गरेका ब्यापार सम्झौता रणनीतिक भएको पनि बताए । ‘मैले कोलकातामात्र होइन, बिशाखापट्नममा पनि किन नाका खोलाएँ, त्यो मान्छेले पछि थाहा पाउँछन्,’ उनले भने, ‘हल्दिया नाकाबाट हिंडेका गाडीहरु बीरगन्ज आइपुगेका छन्, काठमाडौंका लागि हिंडेको रेल सिगाच्छेमामा आएर रोकिएको छ ।’
आर्थिक बृद्धिदर ६ दशमलव ५ प्रतिशत
प्रधानमन्त्रीले आगामी बजेटपछि मुलुक औपचाकिरुपमा विकास र आर्थिक क्रान्तितर्फ अगाडि बढ्ने बताए । ‘आगामी वर्ष मुलुक विकास र आर्थिक समृद्धिको प्रस्थान वर्ष हुनेछ,’ उनले भने, ‘ बजेटमा विकासका तरिकाहरु बाटाहरु अगाडि सार्छ, अहिले म प्रधानमन्त्री छानिएकाबेला १ प्रतिशत पनि वृद्धिदर हुन सक्ने अवस्था छ, आगामी आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशत कम्तिमा बढ्छ ।’
प्रधानमन्त्रीले रोजगारीका अवसर गाउँदेखि नै सिर्जना गर्ने उल्लेख गर्दै महिला र किसानमा आधारित उद्योगहरुको स्थापना गर्ने बताए ।
काम गर्दा विपक्षीको निंदहराम
प्रधानमन्त्रीले आफूले राष्ट्रिय स्वाधिनता र विकासको काम तीब्र अगाडि बढाउँदै विपक्षीहरुको निंदहराम भएको बताए । ‘सरकार अगाडि बढिरहेको छ, कसैको न दिनमा, न रातमा निंदहराम भएको छ,’ उनले भने, ‘कतै कुनाकाप्ची देखियो भने सरकार ढाल्न माकुराले जालो लगाएजसरी लगाइरहेका छन्, तर सरकार काममा अगाडि जान्छ ।’
फास्ट ट्रयाकसहित केही रणनीतिक आयोजनाहरु नेपाली आफैले निर्माण गर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘कतार बनाएकै नेपालीले हो, मलेसिया नेपालीले बनाए, हङकङका अचम्मका विकास नेपालीले गर्न सक्छ भने यहाँ किन गर्न सक्दैन ?,’ उनको प्रश्न थियो ।
नीति तथा कार्यक्रममा विपक्षीले बोल्ने नै ठाउँ नपाएको बताए । ‘कहिले पुरानै हो भन्छ कहिले नयाँ भन्छ विरोधाभासका कुरा हुन्छन्,’ उनले भने ।
प्रधानमन्त्रीले सरकारले भूकम्पपछिको पुनर्निर्माण तीब्र बनाउने उल्लेख गर्दै आगामी जेठ ७ गतेदेखि १५ गतेसम्म सरकारको संयोजनमा पुनर्निर्माण कार्य अगाडि बढाइने बताए ।
पार्टीभित्रै किन निहुँ खोजिन्छ ?
प्रधानमन्त्री ओलीले सरकार आफ्ना खास उद्देश्यहरु साथ अघि बढेको र सार्वभौमसत्तालाई राष्ट्रको यथार्थ धरातलमा उभ्याइरहेको अवस्थामा पनि पार्टीभित्र गुट उपगुट बढेको भन्दै असन्तुष्टि जनाए ।
‘यतिबेला पनि एमालेको नेतृत्वमा देश यसरी अगाडि बढिरहेकाबेला, एमाले भएकोमा केही गर्व गर्दैन भने, गुट गर्छ, यो गुट र त्यो गुट भन्छ भने ठीक भएन,’ उनले भने, ‘त्यो त विरोधीलाई छाडिदिनुस् न, विपक्षीलाई छाडिदिनुस् न । आफ्नै पार्टीका मान्छेले यो निहुँ निकालेको छ, खोंचे थापेको छ, विभिन्न प्रकारका गुटबन्दी गरेको छ यो शोभनिय हुन्छ ?’
प्रधानमन्त्रीले आफू संसदीय दलको नेता र पार्टी अध्यक्ष भएपछि सबैखाले उपलब्धी हात परेको बताए । ‘राष्ट्रको स्वभाविमान जसरी बढाइएको छ, यो साधारण कुरा हो ? यत्रा उपलब्धी हासिल गरिएको छ यो साधारण हो ?,’ उनले भने, ‘म दलको नेता, पार्टीको अध्यक्ष भएपछि नेतृत्वको हिसावले संविधान बनाइएको छ, सरकार बनाइएको छ, राष्ट्रपति बनाइएको छ, सभामुख, उपराष्ट्रपति उपसभामुम बनाइएको छ, पार्टीले जसलाई भनेको छ त्यसैलाई बनाइएको छ ।’
एमाले अध्यक्षसमेत रहेका ओलीले आफू कसैलाई भेदभाव गर्ने पक्षमा नभएको बताए ।
महिला राष्ट्रपति उपलब्धी होइन ?
प्रधानमन्त्रीले लोकतन्त्रपछि नेपाल समावेशीकरणको नमूना बनेको उल्लेख गरे । ‘यत्रो उपलब्धी भयो महिलाले के पायो भन्ने गरेका छन्, हिजो श्री ३ थिए, श्री ५ थिए, आज अन्धकारयुक्त जहानियाँ शासनबाट अखिल नेपाल महिला संघका अध्यक्ष राष्ट्रपति हुनुभएको छ, के यो उपलब्धी होइन ?,’ उनले भने, ‘तर कतिपयलाई मन परेको छैन, गाउँमा जन्मेकाहरु गाउँमै पुग्नुपर्ने हो भन्छन् ।’
जातीय राज्यविरुद्ध बोल्ने एमाले एक्लो
ओलीले संविधान निर्माणताका मुलुकलाई जात र क्षेत्रमा विभाजित गर्ने षड्यन्त्र हुँदा एमालेले एक्लै अस्वीकार गरेको बताए । ‘हाम्रो पार्टीको सचेत प्रयास, स्पष्ट दृष्टिकोण र साम्प्रादायिक विद्वेशलाई अस्वीकार गरिसकेका छौं,’ उनको भनाइ थियो, ‘हाम्रो पार्टीबाहेक कोही थिएन, हाम्रो पार्टीलेमात्रै जातीय राज्य बेतुकको कुरा हो भन्यो ।’
जात, भाषा, क्षेत्रमा विभाजित गरेर सवा सय भाषा र संस्कृति भएको देशमा लडाईं चर्काउने उद्देश्य एमालेकै प्रयासमा बिफल बनाइएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीको अर्को सपना, ‘नेपालीको आफ्नै पानी जहाज’ Reviewed by a on 4:18 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.