Top Ad unit 728 × 90

a
Ad Inside Post

बीचबाटोमै बेचिन्छन् यात्रु

गोरखा–ना६ख १५९८ नम्बरको बसका ३४ जना र ना५ख १०४९ का २५ जना यात्रु आइतबार आरुघाटबाट टिकट काटेर गोरखा सरमुकाम हिँडे । सदरमुकामसम्म आउँदा यात्रु आरुघाटबाट चढेको बसमै आउन पाएनन्।
बीचबाटोमै कोखोआहालेबाट यात्रुलाई यातायात व्यवसायी समिति गोरखाको बसले जबर्जस्ती अर्को बसबाट खोसेर आफ्नो समितिको बसमा कोचेर सदरमुकाम ल्याए। सोमबार पनि आरुघाट यातायात प्रालिको बस आरुघाट सडकखण्डको घ्याम्पेसालसम्म मात्र आयो । त्यहाँयता आउन यातायात व्यवसायी समिति गोरखाले रोकेपछि बीचबाटोमै यात्रु छाडेर गाडी आरुघाट फर्कियो । सातादेखि गोरखा आरुघाट सडक खण्डका यात्रुले बीचबाटोमै बेचिने, यात्रु बोकेको गाडी तोडफोड हुने भएपछि सर्वसाधारण त्रासमा यात्रा गर्न बाध्य छन् ।
बीचबाटोमा गाडी रोकेर यात्रु खसाल्ने सिन्डिकेट पक्षधर व्यवसायीलाई प्रहरीले कुनै कारबाही नगर्दा गुण्डागर्दी मौलाएको छ । सिन्डिकेट हटाउन भन्दा पनि स्थानीय प्रशासन विवाद सुल्झाउन लाग्दा पटकपटक समस्या आउने गरेको गुनासो यात्रुको छ । ऐननियमलाई टेकेर राज्यको कानुनी सीमा पूरा गरेर आएकाले चल्न पाउनुपर्ने भन्दै आरुघाट यातायात प्रालिका अध्यक्ष खड्गबहादुर घले बीचबाटोमा यात्रु लुटिँदा प्रहरीले कुनै वास्ता नगरेको बताउँछन् ।
व्यवसायी कुटिँदासमेत स्थानीय प्रशासनले पक्राउ गरेका गोरखा यातायात सम्बद्ध व्यवसायीलाई कारबाही नगरेको उनले बताए । अहिले पनि जिल्ला विकास समितिको आँगनमा दुई साताअघि तोडफोड भएको गाडी यसै छ । 'प्रशासनले झगडा हुन्छ, तपार्इंहरु नआउनुहोस् भन्दै हामीलाई सधैं गाडी चलाउन रोकेको छ,' अध्यक्ष घलेले भने, 'राज्यको नियम पूरा गरेर गाडी चलाउँछु भन्दा प्रशासनले दिएन ।'
स्थानीय राजनीतिक दलका नेताले गाडी सञ्चालन नगर्न पटकपटक धम्क्याएको उनले बताए । गोरखाको ग्रामीण यातायातमा सिन्डिकेट लगाउँदै आएको यातायात व्यवसायी समिति गोरखाले आरुघाट यातायात प्रालिले गाडी सञ्चालन गर्न लागेपछि पटकपटक तोडफोड र अवरोध गर्दै आएको छ । एक सातासम्म यातायात अवरुद्ध भएर आइतबारदेखि पुनः गोरखा आरुघाट सडक चले पनि अहिले यात्रुलाई बीचबाटोमै बेच्ने, दुई यातायातको विवादले यात्रु गन्तव्यमा पुग्न नपाउने समस्या भएको छ ।
यातायात व्यवसायी समिति गोरखाले आरुघाट प्रालिलाई गाडी चलाउन नदिने भन्दै फुटाउने, धम्काउने, यात्रु चढेको गाडी तोडफोड गर्दै आएको छ । अहिले पनि गोरखा आरुघाट सडकमा यात्रुबाहक बस सहजै आउजाउ गर्न सक्दैन । यातायात व्यवसायी समिति गोरखामा नेपाली कांग्रेस, एमाले र एमाओवादी निकट नेताको गाडी सञ्चालनमा छ ।
स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दललाई समेत आफ्नो पक्षमा लाग्न हरेकखाले हरकत गर्दैै यातायात व्यवसायी समिति गोरखा सिन्डिकेट टिकाउने दाउमा छ । स्थानीय राजनीतिक दलका जिल्ला नेताको समेत सिन्डिकेट पक्षधर यातायात व्यवसायी समिति गोरखालाई समर्थन देखिन्छ । राजनीतिक दलले समर्थन गरेकै कारण स्थानीय प्रशासकले सिन्डिकेट तोडाउन सकेका छैनन् । सत्ता र सरकारको पहुँच देखाउँदै स्थानीय प्रशासकलाई राजनीतिक पार्टीका जिल्ला नेताले आफू अनुकूल काममा लगाएका छन् ।
यातायात व्यवसायी समिति गोरखाबाट फाइदा लुट्दै आएका राजनीतिक दलका नेताको सहयोग नहुँदा गोरखामा सिन्डिकेट पक्षधरको दादागिरी बढ्दै गएको अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टसमक्ष गुनासो गरे । यातायात विवादले यात्रु मारमा परेको भन्दै माननअधिकार तथा शान्ति समाज गोरखाका सभापति यदु अधिकारीले राज्यको ऐननियमभित्र रहेर पेसाव्यवसाय गर्न पाउने, यात्रा गर्न पाउने यात्रुको अधिकारका पक्षमा लाग्न अनुरोध गरे । अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारीलाई राज्यले सिन्डिकेट खारेज गरेको समयमा यात्रु चढेको बस फुटाउने, कुटपिट गर्ने, छेक्ने कामलाई निरुत्साहित गर्न आग्रह गरेका छन् ।

बीचबाटोमै बेचिन्छन् यात्रु Reviewed by a on 7:33 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.