अस्ट्रेलियाले ठुलो संख्यामा बिदेशी कामदार भित्र्यउदै
अस्ट्रेलियाले ठूलो संख्यामा विदेशी विद्यार्थीलाई आफ्नो देशमा भित्र्याउने लक्ष्य राखेको देखिन्छ
सिड्नी—अस्ट्रेलियाले बढी अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने रणनीति अन्तर्गत विद्यार्थी भिसामा ब्यापक परिवर्तन गर्ने तयारी गरेको छ । सन् २०१६ को जुलाईदेखि लागु हुने गरी अस्ट्रेलियाले हाल कार्यन्वयनमा रहेको स्ट्रीमलाइम भिसा प्रोसेसिङमा फेरबदल गर्न लागेको हो ।
सन् २००८–२००९ मा सजिलो भिसा प्रक्रियाका कारण २० हजार नेपाली विद्यार्थी अस्ट्रेलिया भित्रिएका थिए । विद्यार्थी भिसामा गरिएको सरलीकरणकारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या बढेपछि सन् २०११ को सेप्टेम्बरमा माइकल नाइटले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्दै अस्ट्रेलियन सरकारले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेको थियो । जसका कारण अलि झन्झटिलो मानिने स्ट्रीमलाइन भिसा प्रक्रिया सुरु भयो भने आप्रवास र अन्तर्राष्ट्रिय विद्यार्थी सम्बन्धी धेरै नियममा फेरबदल भए ।
शैक्षिक संस्थाहरुलाई पनि सही विद्यार्थी चयन गर्न जिम्मेवार बनाउने गरी ल्याइएको भनिएको स्ट्रीमलाइन भिसा प्रक्रिया करिब चार वर्षपछि फेरि सरकारले यही जुलाई देखि लागु पुनः परिवर्तन गर्दैछ । सरकारले स्ट्रीमलाइनलाई पुनरावलोकन गर्दै सिम्पलिफाइड स्टुडेन्ट भिसा फ्रेमवर्क (एसएसभिएफ)लागु गर्ने तयारी गरेको छ ।
जुलाई २०१६ बाट लागु हुने गरी अस्ट्रेलियाले नयाँँ विद्यार्थी भिसा प्रणालीको घोषणा समेत गरिसकेको छ । यस घोषणाले अस्ट्रेलियामा पढ्न आउने विदेशी विद्यार्थी र यहाँँ रहेका शैक्षिक संस्था दुवैलाई सजिलो हुने विश्वास गरिएको छ । सरलीकृत विद्यार्थी भिसा फ्रेमवर्क (एसएसभीएफ) नाम दिइएको यस व्यवस्थाले सन् २०१२ बाट लागू भएको ‘स्ट्रीमलाइन’ भिसा प्रोसेसिङ सिस्टम (एसभीपी)लाई विस्थापित गर्नेछ ।
यस व्यवस्थाले विदेशी विद्यार्थीले अस्ट्रेलियाको भिसा आवेदन दिने विद्यमान प्रक्रियालाई कम झन्झटिलो बनाउने सरकारको अपेक्षा रहेको छ । अस्ट्रेलियाले विभिन्न ८ वटा सब—क्लासका विद्यार्थी भिसा जारी गर्दै आएकोमा यो नयाँँ व्यवस्था लागु भएपछि ती सबैलाई मिलाएर जम्मा दुई वटा सब—क्लासका भिसा मात्र जारी हुनेछन् । त्यस्तै, यस नयाँँ व्यवस्थाअनुसार विदेशी विद्यार्थीहरूको रिस्क फ्रेमवर्कलाई पनि सरलीकृत गरिएको छ ।
यसले अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहज रुपमा अस्ट्रेलियामा अध्ययनका लागि बाटो खुल्ला गरिदिने आशा गरिएको छ । यो अवसर सदुपयोग गर्न नेपाली शैक्षिक परामर्श ब्यवसायीहरु पुनः सक्रिय हुन थालेका छन् । सिड्नी तथा मेलवर्नमा नयाँ—नयाँ व्यवसायी मात्रै थपिँदै छैनन् नेपालमा आफ्ना शाखा स्थापना र विस्तार पनि गरिहेका छन् ।
किन भयो भिसा नीतिमा परिवर्तन ?
अस्ट्रेलियाले ठूलो संख्यामा विदेशी विद्यार्थीलाई आफ्नो देशमा भित्र्याउने लक्ष्य राखेको देखिन्छ । तर, यसरी आउने विद्यार्थीहरू सक्कली विद्यार्थी मात्र परून भन्नेमा पनि सरकार सचेत रहेको देखिन्छ । सरकारले घोषित रूपमा भने नयाँँ फ्रेमवर्क ल्याउनाको तीन वटा प्रमुख कारणहरू भएको जनाएको छ । सरकारको भनाइ अनुसार धेरै वटा सब—क्लासका कारण भएको अन्योललाई हटाउनको लागि यो व्यवस्था ल्याइएको हो । त्यस्तै, अध्यागमन कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनु र शैक्षिक संस्थाहरूलाई बराबर धरातलमा उभिएर प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पनि यो नयाँँ फ्रेमवर्कको उद्धेश्य भएको जनाइएको छ ।
विश्लेषकहरूले भने अष्ट्रेलियाले माइनिङ क्षेत्रबाट पाउने गरेको आम्दानी पछिल्लो समयमा उल्लेख्य मात्रामा घटेकोले त्यसको क्षतिपूर्ति गर्न सक्ने वैकल्पिक क्षेत्रको रूपमा शिक्षालाई लिएको र सोहीअनुरूप सरकारले अब विदेशी विद्यार्थीको संख्या बढाउन खोजेको विश्लेषण गरेका छन् ।
त्यसो त अस्ट्रेलियामा पढ्न आउने विदेशी विद्यार्थीको संख्या पछिल्लो समयमा उल्लेखनीय रूपमा बढ्न थालेको छ । अध्यागमन विभागले जारी गरेको तथ्यांक हेर्दा यस वर्षको पहिलो तीन महिनामा विदेशी विद्यार्थीको संख्या गत वर्षको सोही अवधिको तुलनामा साढे एघार प्रतिशतले बढेको देखिएको छ ।
यसरी गरिन्छ विद्यार्थीको मूल्यांकन
नयाँँ व्यवस्थाअनुसार सबै विद्यार्थीलाई एउटै जोखिम फ्रेमवर्क अन्तर्गत मुल्यांकन गरिनेछ । सरकारले कुनै पनि आवेदकलाई विद्यार्थी भिसा दिन उचित छ कि छैन भनेर छुट्टयाउनका लागि दुई वटा मापदण्ड तोकेको छ ।
विद्यार्थी कुन देशको नागरिक हो र उक्त विद्यार्थी पढ्न आउन लागेको शैक्षिक संस्थाको पृष्ठभूमी कस्तो छ भन्ने आधारलाई मुख्य मानिनेछ । भनाइको अर्थ, राम्रा शैक्षिक संस्थाले पत्याएका विद्यार्थीले सजिलै भिसा पाउने सम्भावना हुन्छ ।
यस्ता कागजात चाहिन्छन्
अध्यागमन विभागले ‘कम जोखिमपूर्ण’ ठह¥याएका विद्यार्थीहरूको हकमा अहिलेको ‘स्ट्रीमलाइन’ प्रोसेसिङको जस्तै मापदण्ड अपनाइने भएको छ । यसको मतलब त्यस्ता विद्यार्थीले अंग्रेजी भाषामा दक्ष भएको वा आर्थिक रूपमा आफू सक्षम भएको प्रमाण विभागलाई बुझाइराख्नु पर्दैन ।
तर, विभागले आवश्यक ठानेमा त्यस्तो प्रमाण माग्नसक्ने अधिकार भने ऊसँग सुरक्षित रहन्छ ।
नागरिकताको कारण वा शैक्षिक संस्थाको कारण वा दुवैको कारणले गर्दा ‘बढी जोखिमपूर्ण’ ठहरिएका विद्यार्थीले भने आर्थिक सक्षमताको प्रमाणका अतिरिक्त भाषागत दक्षता र आफू सक्कली विद्यार्थी भएको र पढेर स्वदेश नै फर्कने हो भन्ने आधार चित्त बुझ्दो रूपमा दिन सक्नुपर्दछ ।
नेपाली विद्यार्थीमा पर्ने असर
यस प्रणालीअन्तर्गत देश र शैक्षिक संस्थाको जोखिम रेटिङ हुने भएतापनि कुन देशलाई कुन जोखिम स्केलमा राखिएको छ वा कुन शैक्षिक संस्थालाई कति रेटिङ दिइएको छ भन्ने कुरा गोप्य नै राखिने छ । यद्यपी, देश र शैक्षिक संस्थाको नाम राखेर हेर्दा ‘तपाईँले यी—यी प्रमाण राख्नुपर्ने देखिन्छ’ भन्ने आशयको जानकारी भने विभागको वेबसाइटमा राखिएको ‘अनलाइन टूल’मार्फत दिइने बताइएको छ ।
सामान्यतयाः ब्याचलर वा त्योभन्दा माथिका डिग्रीका लागि नेपालको रेटिङ राम्रै हुने र तल्ला डिग्रीहरूका लागि नेपाल ‘बढी जोखिमयुक्त’ रेटिङमा पर्ने सम्भावना देखिन्छ । विगतका असेसमेन्ट लेभलका आधारमा यो अनुमान गरिएको हो ।
नयाँँ व्यवस्थाअनुसार राम्रो शैक्षिक संस्थामा माथिल्ला डिग्रीमा भर्ना हुने नेपाली विद्यार्थीहरूले भिसा पाउन सहज हुनसक्ने देखिन्छ । तर, यस्ता शैक्षिक संस्थाले आफ्नो रेटिङ उच्च राख्नुपर्ने बाध्यताका कारण विद्यार्थी छनौटमा कडाइ गर्ने र राम्रो शैक्षिक पृष्ठभूमी, अंग्रेजीमा राम्रो स्कोर र आर्थिक रूपमा सबल पारिवारिक पृष्ठभूमी भएको विद्यार्थीलाई मात्र भर्ना दिने पक्का छ ।
अस्ट्रेलिया आउन चाहने विद्यार्थीले के गर्ने त ?
सबैभन्दा पहिलो कुरा आफू पढिरहेको तहमा जतिसक्दो धेरै अंक ल्याउने प्रयास गर्नु पर्छ । धेरै अंक ल्याएका विद्यार्थीलाई राम्रा शैक्षिक संस्थाले भर्ना दिन सक्छन् । त्यस्तै, अंग्रेजी भाषामा धेरै राम्रो स्कोर ल्याउन सकियो भने त्यसले पनि राम्रा शैक्षिक संस्थामा भर्ना पाउन सजिलो हुन्छ ।
शैक्षिक संस्थाले आर्थिक सक्षमताको प्रमाण पनि हेर्ने हुनाले त्यसको बारेमा पनि तयारी गर्नुपर्ने हुन सक्छ । बैंक ऋण लिनुपर्ने हो भने त्यसको लागि बैंकसँग बेलैमा सम्पर्क गरी उनीहरूको ऋण दिने मापदण्ड के छ त्यो बुझि राख्नुपर्दछ ।
Reviewed by a
on
8:50 AM
Rating:
No comments: