विश्व शेयर बजार बढ्यो
क्वालालम्पुर (मलेशिया) । बिहीवार अधिकांश विश्व शेयर बजारमा वृद्घि देखिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ गत नोभेम्बरयता पहिलोपटक प्रतिब्यारेल ५० डलरमा पुगेका कारण शेयर बजारले टेवा पाएको हो । उक्त दिनको यूरोपेली बजारको शुरू कारोबारमा बेलायती सूचक एफ्टीएस्ई १०० शून्य दशमलव शून्य ४ प्रतिशत बढेर ६ हजार २ सय ६५ दशमलव शून्य ९ अङ्कमा पुगेको थियो । त्यस्तै सोही दिन फ्रान्सेली परिसूचक सीएसी पनि शून्य दशमलव शून्य २ प्रतिशत बढेर ४ हजार ४ सय ८१ दशमलव ९२ अङ्कमा उक्लिएको थियो ।
त्यस्तै जर्मनीको शेयर सूचक ड्याक्स पनि शून्य दशमलव २ प्रतिशत बढेर १० हजार २ सय २३ दशमलव ९४ अङ्कमा पुगेको थियो । गतहप्ता अमेरिकाको इन्धन भण्डारणमा अनपेक्षित कमी आएको तथ्याङ्क प्रकाशित भएपछि कच्चा तेलको भाउ प्रतिब्यारेल ५० डलरमा पुगेको थियो । यो वर्षको शुरुआतयता तेलको भाउमा वृद्घि शुरू भएको छ । सोही दिन एशियाली बजारमा भने मिश्रित नतीजा आएको छ ।
उक्त दिनको कारोबारमा जापानी परिसूचक निक्केई २२५ झण्डै शूूूून्य दशमलव १ प्रतिशत बढेर १६ हजार ७ सय ७२ दशमलव ४६ अङ्कमा उक्लिएको थियो । उता, चिनियाँ बेञ्चमार्क साङ्हाई कम्पोजिट इण्डेक्स पनि शून्य दशमलव ३ प्रतिशत बढेर २ हजार ८ सय २२ दशमलव ४४ अङ्कमा पुगेको थियो । त्यस्तैै हङकङेली सूचक हाङ सेङको भाउ पनि शून्य दशमलव १४ प्रतिशत बढेर २० हजार ३ सय ९७ दशमलव ११ अङ्कमा पुगेको थियो ।
त्यसैगरी अष्ट्रेलियाली सूचक एसएण्डपी/एएसएक्स २०० शून्य दशमलव ३ प्रतिशतको वृद्घि हासिल गर्दै ५ हजार ३ सय ८८ दशमलव ८० अङ्कमा पुगेको थियो भने बिहीवारको कारोबारमा ताइवान र कोरियाली शेयर सूचकले भने कमी बेहोरेका थिए । त्यस्तै सो अवधिमा येनको तुलनामा डलरको भाउमा कमी आएको थियो भने यूरोपेली मुद्रा युरोको भाउ भने बढेको थियो । रासस
विश्व शेयर बजार बढ्यो
Reviewed by a
on
8:43 AM
Rating:
No comments: