Top Ad unit 728 × 90

a
Ad Inside Post

‘आमा ढुङ्गा बोकेर भएपनि पढाउनु पछि हेर्छु’ छोराको कुराले विदेश जाँदैछिन् भावना

साउदी जान लाग्दा दिदीले भावनालाई सँगै विदेश हिँड भनेर पटक पटक भन्नुभयो तर भावना मान्नुभएन । त्यति बेला दिदीले भारतको बाटो हुँदै जाने भनेपछि उहाँले त्यसमा जोखिम देख्नुभयो । त्यही भएर म त्यसरी जान्न भनेर बस्नुभयो ।
तर अहिले विदेश नगइ नहुने बाध्यता आयो । साउदी गएकी दिदी उतै सम्पर्कविहीन हुनुभएको छ । न भनेको बेलामा बोल्न पाइन्छ न त परिवारमा परेका सारो गाह्रो सुनाउन नै । विदेश गएका अरु महिलाको अवस्था राम्रो छैन भन्ने हरेक दिन जसो सुन्नुहुन्छ । त्यही माथि पढाइ पनि छैन भावनाको । त्यसैले विदेश जान जोखिम छ भन्ने थाहा छ उहाँलाई । तर जोखिम हुँदा हुँदै पनि विदेश जान बाध्य हुनुभएको छ । श्रीमान् र तीनजना छोरी अनि सासु ससुरासहित ७ जनाको परिवार भावनाको । कैलालीको चौमाला गाविसको राजिपुरमा बस्ने भावनाको परिवारको आफ्नो जग्गा जमिन पनि छैन अनि घर पनि । त्यसैले झण्डै १२ वर्षअघि श्रीमान दिपक भारत जानुभयो । भावनालाई श्रीमानले कमाउनुहुन्छ अनि त घरपरिवारको अवस्था सुध्रिन्छ भन्ने लागेको थियो । श्रीमानले कमाउनु पनि भयो । श्रीमानकै कमाइले परिवारलाई लागेको पहिल्यैदेखिको ऋण पनि तिर्नुभयो । त्यसपछि भने उहाँलाई भारतको भन्दा धेरै कमाउने आशा जाग्यो । भारतको कमाइले ऋण तिरेँ अब विदेश जान पाए कमाउन र जमाउन सकिन्थ्यो भन्ने लागेर उहाँ घर फर्किनुभयो ।
श्रीमानको योजना भावनालाई पनि ठिकै लाग्यो । त्यसैले उहाँले विदेश पठाउने पैसा जोहो गर्न थाल्नुभयो । काठमाडौं आएका दिपकलाई पासपोर्ट बनाउन ४५ हजार रुपैयाँ लाग्यो । ‘५ हजारदेखि ५५ सय रुपैयाँसम्ममा बन्ने पासपोर्टका लागि त्यत्रो पैसा खर्च भयो । त्यो दलालले पैसा खाइदिएछ’ भावनाले धेरै पैसा लाग्नुको कारण सुनाउनुभयो । पासपोर्ट लिएर म्यानपावर पुगेका दिपकलाई ड्राइभरको काममा पठाइदिने भन्दै डेढ लाख रुपैयाँ लियो । पासपोर्ट बनाउँदा, काठमाडौं आउँदा जाँदा अनि बस्दाको खर्च सबै जोड्ला अढाइ लाख रुपैयाँ लाग्यो । खर्च भएपनि कमाइ पनि हुन्छ भन्ने आशा थियो भावनाका जोडीलाई । त्यही भएर आफूसँग पैसा नहुँदा पनि ऋण खोजेर विदेश जाने आँट गरे । साउदी पुगेका दिपकले भनेकै काम पाउनुभयो । कमाइ पनि ठिकै थियो । तर काम थालेको ९ महिना नपुग्दै दुर्घटनामा पर्नुभयो ।
दुर्घटनामा परेपछि दिपकलाई टाउको दुख्ने समस्या देखियो । ‘अलिअलि त भारतमा हुँदा पनि दुख्थ्यो तर दुर्घटनापछि खप्नै नसक्ने गरी टाउको दुख्न थाल्यो’ दिपकले भन्नुभयो । टाउको दुख्ने समस्या बढ्दै गएपछि दिपक एकोहोरो हुन थाल्नुभयो । ‘समस्या विस्तारै मानसिक समस्या जस्तो देखिन थालेछ त्यही भएर घर फर्कायौं’ भावना भन्नुहुन्छ ।
श्रीमानलाई घर त ल्याउनुभयो तर भावनासँग उहाँको उपचार गर्ने पैसा छैन । त्यसमाथि छोराहरुलाई पढाउने खर्च पनि भावनाकै काँधमा छ । भावनाका ९, ६ र ५ वर्षका छोरा छन् । सुरुमा त छोराहरु सरकारी विद्यालय पढ्थे । श्रीमानले केही कमाएपछि अरुका छोराछोरीले जस्तै पढाइ राम्रो होस् भनेर भावनाले उनीहरुलाई पनि बोर्डिङमा भर्ना गर्नुभयो । बोर्डिङ हाल्दा छोराको कक्षा घटेपनि खर्च बढ्यो । सरकारी विद्यालयमा तीन कक्षामा पढ्दै गरेका ठूलो छोरा बोर्डिङमा यु केजीमा पुग्यो भने अरु दुई जना नर्सरीमा भर्ना भए । श्रीमानले कमाउञ्जेल सासु ससुरासँग मिलेर आफूले चलाएको सिलाइ पसलको कमाइले घरको खर्च धान्दै थियो । तर श्रीमान बिरामी भएर फर्किएपछि सिलाइ पसलको कमाइले पुग्ने कुरै भएन । त्यसैले भावना अब विदेश जाने निधोमा पुग्नुभयो ।
उहाँले विदेश जान पासपोर्ट बनाइसक्नुभएको छ । तर अरु धेरै महिला जस्तै समस्यामा पो परिने हो कि भन्ने चिन्ता छ उहाँलाई । ‘जोखिम छ भन्ने पनि थाहा छ तर छोराको भविष्य हेर्नुपर्यो नी सर । अहिले मलाई ढुङ्गा बोकेर भएपनि पढाउनु म पछि तपाईंलाई हेर्छु ममी भन्छ अनि म के गर्नु’ भावना भन्नुहुन्छ ।
दिदी बेपत्ता भएको कुराले झस्काउँछ
अवस्था कमजोर हुँदै गएकाले भावनाले तयारी गरेको केही महिना भयो । आफूसँग सिलाइको सीप भएकाले त्यही काममा विदेश जान भावनाको तयारी छ । त्यसकै लागि उहाँले यही पुस २६ गतेदेखि सिलाइको तालिम पनि लिँदै हुनुहुन्छ । तालिम लिएर जाने तयारी भएपनि दिदी साउदीमै सम्पर्कविहीन भएको घटनाले झस्काइरहेको छ भावनालाई । त्यति मात्रै होइन रेडियो, टिभी अनि पत्रपत्रिकामा विदेशमा समस्यामा परेका महिलाका कुरा सुन्नु, हेर्नु, अनि पढ्नुभएको छ । ‘त्यसैले कतै मलाई पनि त्यस्तै हुने हो कि भन्ने निकै डर लाग्छ’ भावना भन्नुहुन्छ । उहाँकी दिदी भारत हुँदै साउदी जानुभएको थियो । एक वर्षसम्म फोन हुँदै थियो तर त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको छ । त्यही भएर पनि भावना धेरै आत्तिनुभएको छ । उहाँकी साथी डेढ वर्षअघि जोर्डन जानुभएको थियो । सिलाइकै काममा गएकी साथी श्रीमान् विदेशबाट फर्किने बित्तिकै फर्किन पाउनुभयो । त्यसैले उहाँ जोर्डन नै जान लाग्नुभएको हो । तर रहरभन्दा धेरै बाध्यता भएको उहाँ बताउनुुहुन्छ । भन्नुहुन्छ ‘बाध्यता थिएन भने यति धेरै जोखिम हुँदा हुँदै किन जान्थें र ?’
(दिनेश एफएमका रोहित गिरीको सहयोगमा)

‘आमा ढुङ्गा बोकेर भएपनि पढाउनु पछि हेर्छु’ छोराको कुराले विदेश जाँदैछिन् भावना Reviewed by a on 5:19 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.